जिल्लाको परिचय

जिल्लाको  सामन्य परिचय

ऐतिहासिक पृष्ठभूमि तथा राजनीतिक विभाजन

मनाङ जिल्ला संघिय गणतन्त्र नेपालको गण्डकी प्रदेश अन्तर्गतको सुन्दर प्राकृक्तिकताले सजिएको हिमाली जिल्ला हो। यस जिल्लाको धेरैजसो भू-भाग उच्च पहाडी र हिमाली क्षेत्रले ओगटेको छ । यस जिल्लामा शितोष्ण, ठण्डा, अल्पाईन र हिमाली हावापानी तथा सोही हावापानी सुहाउँदो विभिन्न प्रकारका बन तथा जैविक विविधता पाईन्छन् । यस जिल्लामा बनको कूल क्षेत्रफल १९,१६५.९० हेक्टर छ, जुन जिल्लाको कुल क्षेत्रफलको ८.५३ प्रतिशत हुन आउँछ । मनाङ जिल्लालाई पहिला मनाङ भोट भनिन्थ्यो। जिल्लाको तत्कालीन डावल गा.वि.स. मा घले राजाको दरबार रहेको र घले राजाले शासन गरेका प्रमाणहरूमा बुम्कामा ढुङ्गासहितका दरबारका भग्नावशेषहरू देख्न सकिन्छ । तिव्बतसँग नजिक रहेको नार्पा भुमि गाउँपालिकाको प्रवेशद्वारमा ठूलाठूला काठका ढोकाहरू तथा प्रवेश गर्ने नाकाहरूमा अग्ला अग्ला ढुङ्गा र माटाले बनाईएका सुरक्षा क्याम्पहरूका अवशेषहरूले पनि यसको ऐतिहासिकता झल्किरहेको छ । यस्ता क्याम्प निमार्ण गर्नुको मुख्य उद्देश्य त्यतिवेला तिब्बतबाट भागेर आएका खम्पाहरूको आक्रमणबाट सुरक्षित हुनको लागि भएको जेष्ठ नागरिकहरूले बताएको पाईन्छ । जिल्लाको सबैभन्दा ठूलो गाउँ “मनाङ” बाट नै जिल्लाको नामकरण भएको पाईन्छ। “मनाङ” शब्द तिब्बती भाषाको “म्हनाड” शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ । तिव्वती भाषामा “म्ह” को अर्थ सहायता र “नाङ” को अर्थ देउ भन्ने हुन्छ । विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायता विना जनजिवन अति कष्टकर रहेको भन्ने अर्थमा नै जिल्लाको नामकरण भएको बुझिन्छ । विश्वकै प्रसिद्ध पर्यटकीय मार्ग (Round Annapurna Trekking Route) को रूपमा चिनिने गण्डकी अञ्चलका छ वटा जिल्लाहरू मध्येको एक मनाङ जिल्ला अति विकट र दुर्गम हिमाली जिल्ला हो। यस जिल्लाका ४ गाउँपालिका मध्ये नार्याभुमी गाउँपालिका बाहेकका ३ गाउँपालिकाहरू यहि मार्गमा पर्ने हुँदा यहाँका बासिन्दाहरूको प्रमुख आम्दानीको श्रोत प्रर्यटन व्यवसाय नै रहेको छ। यस जिल्लाको आपनै मौलिक धर्म संस्कृति, परम्परा, भेषभूषा लगायत मानवीय तथा प्राकृतिक विविधता र सौन्दर्यताले गर्दा स्वदेश तथा विदेशमा समेत प्रख्यात हुन पुगेको छ। जिल्लाको हिमाली परिवेशको कारण यो जिल्ला पहिले मनाङ भोटको रूपमा प्रख्यात रहेको कुरा विभिन्न लेखहरूमा उल्लेख गरेको पाईन्छ । यस जिल्लाको पश्चिम उत्तरतर्फ मुस्ताङ जिल्लाको सिमानामा ५४१६ मिटरको उचाईमा प्रसिद्ध थोराङ्गला भन्ज्याङ्ग (Thorang La) अवस्थित छ । जुन प्रर्यटकहरूको प्रमुख गन्तव्य स्थान हो । भौगोलिक रूपमा अत्यन्त विकट तथा समुद्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाईमा अवस्थित यस जिल्लाको ठुलो हिस्सा उच्च पहाडी तथा हिमाली भू- भागले ओगटेको छ । पूर्वमा मनासलु हिमाल (८१६३ मी.), पश्चिममा दामोदर र मुक्तिनाथ हिमाल(५९७७ मी.), उत्तरमा तिब्बतको पेरी र चीन हिमाल तथा दक्षिणमा अन्नपूर्ण हिमश्रृखला (लम्जुङ हिमाल) ले ढाकिएर रहेको तथा चारैतिरबाट हिमालले घेरेको हुनाले यस जिल्लालाई “हिमालपारीको जिल्ला” पनि भनिन्छ । चट्टाने भीर पहरा र सुख्खा हावापानीका कारण जिल्लाको माथिल्लो खण्ड (Upper Manang) शीत मरुभूमिको रूपमा रहेको छ जहां कांडेदार बुट्यान तथा झाडी बाहेक ठुला रुखहरू पाइदैनन् । जिल्लाको तल्लो भू-भागमा भने कोणधारी र चौडापाते प्रजातीहरूको वन पाइन्छ । नेपालमा वन व्यवस्थापनको औपचारिक कार्य वि सं १९९९ मा काठ महल अड्डाको स्थापना र सो अन्तर्गत ३ सर्कल र १२ वन जाँच अड्‌डाहरू राखी शुरुवात गरिएको थियो । वि सं २००७ सालमा प्रजातन्त्रको बिहानी सँगै २ सर्कल ११ डिभिजन र ४४ रेन्ज कार्यालयहरू सहित २००८ सालमा वन विभागको गठन भएको थियो। वि.स २०१२ सालमा वन विभागको प्रमुख चिफ फरेष्ट अफिसरको पद सृजना, वि.सं. २०१६ सालमा चिफ कन्जरभेटर अफिस अफ फरेष्टको गठन र सो अन्तर्गत २२ वटा डिभिजन कार्यालयहरू खडा गरिए । वि सं २०२६ सालमा केही सर्कल र डिभिजनहरूलाई खारेज गरी प्रधान वन कार्यालय तथा वन कार्यालयहरूको स्थापना र २०३३ सालमा राष्ट्रिय बन योजना लागु भएपछि पुनः संगठनमा परिवर्तन गरी प्रधान बन कार्यालय खारेज गर्नुका साथै ९ वटा सर्कल, ४० वटा बन डिभिजन र १७४ वटा रेन्ज कार्यालयहरूको स्थापना गरियो । वि सं २०४० सालमा विकेन्द्रिकरण प्रक्रियासँग मेल खाने गरी ५ वटा क्षेत्रिय बन निर्देशनालयहरू र आर्थिक वर्ष (आ.व.) २०४३/०४४ सम्म ७५ वटै जिल्लामा डिभिजन वन कार्यालय स्थापना गरिए । यस जिल्लामा डिभिजन बन कार्यालयको स्थापना वि.सं. २०४२ सालमा भएको थियो । नेपालका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा डिभिजन वन कार्यालयहरूको संगठन संरचना रहेको र ती जिल्लाहरूलाई वनक्षेत्र र महत्वका आधारमा वि सं २०५० सालमा क देखि ङ सम्म गरी ५ वर्गमा विभाजन गरेकोमा जिल्ला (ङ) वर्गमा पर्दछ । २०७० सालको सांगठनिक दरबन्दी अनुसार यस जिल्लामा २ वटा ईलाका वन कार्यालय रहेका थिए।

Leave a Reply

Your email address will not be published.

डिभिजन वन कार्यालय, मनाङ © 2019 | Design and Developed by : Vision Computer Sewa - ९८४६०८४३१५ | Email: visioncomputersewa@gmail.com